काठमाडौं— सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ ।
असोज १४ गते सडक भासिएर बन्द भएको सडक गत शुक्रबारदेखि एकतर्फी खुलेको थियो । थप मर्मत सम्भारपछि आइतबारदेखि सडक दुईतर्फी खुलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार आइतबार बिहान ११ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो । तर , सडक भासिने जोखिम भने कायमै रहेकाले ठूला र भारबहन बढी भएका सवारीलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
भासिएको ठाउँमा माटो र ढुंगाले भरेर सवारी संचालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि असोज १४ गतेदेखि दाउन्ने खण्डमा सहजरुपले यातायात संचालन हुन कठिनाइ आउँदै गरेको छ । पानी पर्नासाथ सडक भासिने समस्या दोहोरिएको छ ।