काठमाडौं— नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर गएराति एकतर्फी सञ्चालन गरिएको सडक फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि गाडी रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार हिजो बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने गाडी र यात्रु रोकिएका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि गएको असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भासिएको थियो । देशका अरु ठाउँमा अवरुद्ध भएर सञ्चालनमा आएका सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ ।

काठमाडौं जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ ।