काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यातायात व्यवसायी र मजदुरहरूको समस्याबारे विस्तृत छलफल गरेका छन्। खुमलटारस्थित आफ्नै निवासमा आयोजित छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका भीम ज्वाला राईसहित अन्य पदाधिकारीहरूको सहभागिता थियो।

छलफलका क्रममा प्रचण्डले केही समयअघि आएको बाढी, पहिरो, र डुबानका कारण यातायात क्षेत्रमा परेको क्षतिका बारेमा विवरण प्रस्तुत गरे। उनले काठमाडौँ, ललितपुर, भक्तपुर, र काभ्रेका प्रभावित क्षेत्रहरूको अनुगमन गर्दा अझै पनि गाडीहरू पुरिएका, आवागमन अवरुद्ध भएको, र यातायात मजदुरहरूले ठूलो पीडा भोगिरहेको देखेको बताए। प्रचण्डले यस अवस्थाको समाधानका लागि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पहल गर्न छलफल सुरु गरेको जनाए।

OM Sai Pathibhara Hospital

छलफलमा यातायात महासङ्घका पदाधिकारीहरूले आफ्नो क्षेत्रले भोगिरहेको समस्याका बारेमा विस्तृत धारणा राखे। उनीहरूले सरकारले आवश्यक पहल नगरेको गुनासो गरे। मजदुरहरूको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्ने, पहिरोका कारण थुनिएका गाडी र मजदुरहरूको उद्धार गर्नुपर्ने, साथै घरबारविहीन भएका मजदुर र व्यवसायीलाई राहत उपलब्ध गराउनुपर्ने माग उठाइएको थियो।

पदाधिकारीहरूले यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्याङ्क सङ्कलन नगरिएकोप्रति गम्भीर असन्तोष व्यक्त गरे। साथै, पुरिएका र बगेका गाडीहरूको बीमा रकम प्राप्त गर्न समस्या भइरहेको भन्दै, तत्काल बीमा दाबी उपलब्ध गराउने वातावरण बनाउन आग्रह गरे।

अध्यक्ष प्रचण्डले यी सबै माग र समस्याहरू सुनेपछि आफूले सरकारको ध्यानाकर्षण गराएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले यातायात क्षेत्रले भोग्नुपरेको कठिनाइ र समस्याहरूको प्रत्यक्ष प्रभावलाई प्राथमिकतामा राख्दै, सरकारसामु आवश्यक कदम चाल्न आग्रह गर्ने बताए। साथै, उनले बाढी पहिरोले पुर्याएको क्षति र त्यहाँ भएका जनधनको नोक्सानप्रति गहिरो चासो व्यक्त गर्दै दशैँ तिहारमा यात्रुको सुविधाका लागि महँगी नियन्त्रण र यातायात सेवामा सुधारको लागि पनि तत्काल कदम चाल्नुपर्ने बताए।