काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबईलगायतका देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका छन् ।
पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाडौं पुतलीसडकबाट, अन्जनालाई काठमाडौं नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।