काठमाडौं— काठमाडौंका दुई स्थानबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन्। पहिलो घटना काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित त्रिपुरा सुन्दरी होटल एण्ड लजमा भएको हो। यहाँ धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-६ का ४२ वर्षीय राम शरण पाण्डेको होटलमा काभ्रे तेमाल गाउँपालिका-६ का सोम बहादुर तामाङसहित १३ जना जुवाखालमा संलग्न पाइएपछि प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। उनीहरूबाट नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल बरामद गरिएको छ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित सनसिटी लाईफ बेकरीमा जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका-२ का ४२ वर्षीय नवराज श्रेष्ठसहितको समूहलाई प्रहरी प्रभाग काँडाघारीले नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित नियन्त्रणमा लिएको हो। प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।