काठमाडौं – काठमाडौंबाट छुटेका सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गरिने भएको छ। मङ्गलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरूको छलफलले सवारीसाधनको सुरक्षित यात्रा सुनिश्चित गर्न १० बुँदे निर्णय गरेको हो । 

छलफलमा यातायात व्यवसायी, प्रहरी, र यातायात मजदुरको सहभागिता थियो। बैठकले सवारीसाधनहरूलाई पिउने पानी, प्राथमिक स्वास्थ्य सामग्री, र खान मिल्ने आवश्यक सामग्री लिएर मात्र सञ्चालन गर्न अनुरोध गर्‍यो। यातायात व्यवसायीलाई यात्राका लागि समय व्यवस्थापन गर्न र सुरक्षा निकायले सहजीकरण गर्न सहमति भएको छ ।

OM Sai Pathibhara Hospital

बैठकले बाढीपहिरोमा ज्यान गुमाएका यातायात मजदुर र यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक यातायात मजदुर र दुर्घटनाग्रस्त सवारीसाधनको विवरण सङ्कलन गरी क्षतिपूर्तिको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयलाई विपद्मा फसेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार र राहत उपलब्ध गराउन आग्रह गरिएको छ। साथै, अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्दा सतर्कता अपनाउन जनतालाई आग्रह गरिएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका विपद्सम्बन्धी सूचना नियमित रुपमा फेसबुक पेजमार्फत सार्वजनिक गर्नेछ भने यातायात व्यवसायीलाई अग्रिम टिकट बुकिङ गर्दा बाटोको अवस्था हेरेर मात्र टिकट काट्न अनुरोध गरिएको छ । वैकल्पिक मार्गहरूको पहिचान गरी सवारीसाधन सञ्चालनको व्यवस्था गर्न र सडक विभागलाई अवरुद्ध सडक खुलाउन हेभी इक्युपमेन्ट तैनाथ राख्न अनुरोध गरिएको छ ।