काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले स्वागत गरेका थिए ।

OM Sai Pathibhara Hospital

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो । 

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको ७९औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली गत असोज ४ गते अमेरिका गएका थिए । ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । 

यसवर्षको महासभामा ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो ।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । 

उनले अति कम विकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भए ।

भ्रमणका क्रममा उनले राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग साइडलाइन वार्ता समेत गरेका थिए ।