काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४ दशमलव ४५ अङ्कले वृद्धि भई १.८० प्रतिशतले उक्लिँदै २,५०८.८६ मा पुगेको छ । तर, कारोबार रकम भने पौने चार अर्बमा सीमित भएको छ, जुन पछिल्लो तीन महिनायताकै न्यून हो ।

आजको दिनमा ३१९ कम्पनीका ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटक किनबेच हुँदा कुल कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ मा खुम्चिएको छ । 

OM Sai Pathibhara Hospital

समग्रमा म्युचुअल फन्ड समूहमा ०.६० प्रतिशतको गिरावट आए पनि अन्य सबै समूहमा सुधार देखिएको छ । वित्त समूह सबैभन्दा धेरै ४.१९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशतले उक्लिएको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, र लघुवित्त समूहमा पनि क्रमशः वृद्धि देखिएको छ । 

सकारात्मक सर्किट पाएको सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरले सबैभन्दा धेरै कारोबार गरी रु १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार गरेको छ । तर, प्रभु सेलेक्ट फन्डको शेयर मूल्यमा ९.३६ प्रतिशतले गिरावट आएको छ, जसले सबैभन्दा धेरै गिरावटको सामना गरेको छ ।

किनबेच भएको शेयर संख्यामा सिटिजन सुपर-३० म्युचुअल फन्डको १२ लाख १ हजार ४२० कित्ता शेयर सबैभन्दा धेरै खरिद-बिक्री भएको छ । आजको बजारमा मूल्यमा वृद्धि भएका १० कम्पनीमा चार वटा सिमेन्ट कम्पनी छन् । 

दसैँतिहारपछि निर्माण क्षेत्रको गतिविधि बढ्ने अपेक्षामा लगानीकर्ताहरू सिमेन्टमा आकर्षित भएका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणका लागि सिमेन्टको माग बढ्न सक्ने सम्भावना रहेको छ ।