काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर स्वदेश फर्कने भएका छन् । महासभामा भाग लिन असोज ४ गते न्युयोर्क गएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । 

महासभाको विषय ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’मा केन्द्रित छलफल भयो । न्युयोर्कमा रहँदा उनले महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनको स्वागत समारोहमा पनि सहभागीता जनाएका थिए । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयमा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै विभिन्न कार्यक्रमहरूमा भाग लिए । भ्रमणका क्रममा उनले महासचिव एन्टोनियो गुटेरेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता पनि गरे । 

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अन्य अधिकारीहरू पनि छन् ।