काठमाडौं— निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौंबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन । काठमाडौं उपत्यकाभित्रको हकमा जमेको पानी खुलाउने क्रम जारी छ भने कोरिडोर क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।
प्रहरीका अनुसार बल्खु–फर्पिङ, दक्षिणकाली–सिस्नेरी, चन्द्रागिरीको पृथ्वी राजमार्ग, ललितपुरको लेले, टीकाभैरव जाने बाटो, मकवानपुरको त्रिभुवन राजपथ, काभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्ग, मध्य–पहाडी लोकमार्ग, सिन्धुलीको मदनभण्डारी राजमार्ग, धादिङको पृथ्वी लोकमार्ग, सिन्धुपाल्चोकतर्फ अरनिको राजमार्ग, बाह्रबिसे–तातोपानी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् ।
प्रहरीले बाटोको अवरोध खुलाउने प्रयास निरन्तर जारी रहेको बताएको छ ।