काठमाडौं— अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । 

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए । 

OM Sai Pathibhara Hospital

उनको अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो ।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।

कुलेखानी ड्याम भरिएकाले बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा यस क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन अनुरोध गरिएको हो ।