काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालले शान्ति र सुरक्षामा महत्वपूर्ण योगदान गर्दै आएको बताएका छन् । बिहीबार साँझ महासभामा सम्बोधन गर्दै ओलीले शान्ति अभियानमा नेपालले सेना र प्रहरीको भूमिका अझै बढाउन चाहेको बताएका छन् ।

ओलीले नेपालले शान्ति प्रक्रियामा चुनौतीहरू सामना गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको जानकारी गराउँदै सरकार आर्थिक रूपान्तरण र स्थिरता कायम गर्न प्रतिबद्ध रहेको बताए ।

OM Sai Pathibhara Hospital

उनले सबैसँग मित्रता र कसैसँग शत्रुता नराख्ने नीति पछ्याउँदै आएको र इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानमा जोड दिएको उल्लेख गरेका छन् । साथै, नेपालले जलवायु न्यायको माग पनि राखेको उनको भनाई थियो ।

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अन्य अधिकारीहरू पनि सहभागी थिए ।