काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै, ओलीले नेपालका हिमाल विश्वव्यापी कार्बन उत्सर्जनका कारण पग्लिरहेको बताए ।

प्रधानमन्त्रीले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै १० वटा नदी प्रणालीहरू सुख्खा भइसकेको र यो समस्या समाधानका लागि एकीकृत जलवायु अनुकूलन योजना आवश्यक भएको बताए। उनले हिमालयलाई प्राकृतिक ‘रिचार्ज सिस्टम’ भन्दै, यसलाई पग्लिन र समुद्रको तापक्रम बढ्नबाट रोक्न विश्वव्यापी प्रयास आवश्यक रहेकोमा जोड दिए ।

OM Sai Pathibhara Hospital

सम्बोधनमा ओलीले जलवायु न्यायको नीति कार्यान्वयन र उत्सर्जनकर्ताले प्रभावित मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने आवश्यकता पनि उठाए । साथै, उनले हिमाली र टापुजन्य मुलुकका लागि बेग्लै बैठक राख्न राष्ट्रसंघलाई आग्रह गरे ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनबाट असुरक्षित मुलुकहरूको फोरममा समेत सम्बोधन गर्दै पेरिस सम्झौताअनुसार विकसित मुलुकहरूले जलवायु वित्त कोषमा अतिरिक्त बजेट उपलब्ध गराउनुपर्ने माग गरे । उनले नेपालमा आयोजना हुने सगरमाथा संवादमा फोरमका सदस्य राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा पनि दिएका छन् ।