काठमाडौं–संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामोआ र फिनल्याण्डका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र सामोआकी प्रधानमन्त्री फैमे नाओमी माताफाबीच राष्ट्रसंघका लागि सामोआको स्थायी नियोगमा भेटवार्ता भएको हो । 

यस्तै, प्रधानमन्त्री ओलीले फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब्बसँग पनि संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा सहभागी थिए ।