काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।

मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो । 

OM Sai Pathibhara Hospital

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए । 

कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरुसहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे ।  

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग कार्य सम्पादन सम्झौता भएको थियो । त्यही निणर्य अनुसार अब मन्त्रालय, मन्त्रालयमा पनि सम्बन्धित मन्त्री र सचिवबीच पनि यो कार्य सम्पादन सम्झौता गर्नुपर्ने भएकाले कारणले त्यही प्रोग्राम अन्तर्गत हामीले आजको दिनमा यो कार्य सम्पादनमा श्रीमान सचिवज्यु र मेरो बीचमा जुन सम्झौता भएको छ । त्यसको खास गरेर यो आधार सम्माननीय प्रधानमन्त्रीज्युसँग यो मन्त्रालयको नेतृत्व सम्हालीरहेको मैले कार्य सम्पादनमा हस्ताक्षर गरेको थिएँ ।’


त्यस अवसरमा सचिव गेलालले पनि कार्यवाहक प्रधानमन्त्री सिंहसँग मन्त्रालयको कार्य सम्पादनका लागि गरिएको सम्झौता पूणर्रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

सम्झौंतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भाद्र २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका थिए ।