काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका सदस्यहरूलाई सहकारी ठगको संरक्षणमा नलाग्न अनुरोध गरेका छन् । फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले भ्रष्टाचार र अपराधको संरक्षण गर्न पार्टीको उद्देश्य नभएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन्, बल्की तिनिहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरूको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।’

उनले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई प्रहरीलाई बुझाईदिन र कानुनको शासनको रक्षा गर्न आग्रह पनि गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकि कानुनभन्दा माथि कोहि हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनु हुँदैन, गर्नुहुँदैन ।’

OM Sai Pathibhara Hospital

उनको यो बयान सभापति एवं पूर्वगृहमन्त्री रवि  लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको चर्चापछि आएको हो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछाने पक्राउ पर्ने आशंका गर्दै आइतबार बेलुका रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ता जम्मा गरेको थियो ।

सो अवसरमा रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताए । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परिसकेका छन् । रास्वपाले संस्थापक महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिसकेको छ । उनलाई पार्टी अनुशासन उल्लंघन, अराजनीतिक, अभद्र, र अराजक व्यवहार गरेको आरोपमा निष्कासन गरिएको हो ।