काठमाडौं–बाराको कोल्हबी नगरपालिका–२ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गली हात्ती करेन्ट लागेर मृत फेला परेको छ । कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार हात्ती स्थानीय रमेश जिसीको धान खेतमा मृतावस्थामा भेटिएको हो । 

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको छ । कसले र किन जङ्गलमा करेन्ट राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको र विद्युतीय धराप थाप्ने व्यक्तिलाई चाँडै पक्राउ गर्ने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ । यसअघि २०८० फागुनमा पनि सोही क्षेत्रमा करेन्ट लागेर करिब तीन वर्षको पोथी बाघको मृत्यु भएको थियो ।