काठमाडौं- सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

यो सँगै ठगीमा संलग्न रहेको भन्दै समितिले कारबाही सिफारिस गरेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । 

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

यसअघि सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गर्नुपर्ने पाँच आधार प्रस्तुत गरेको थियो ।

यसैबीच सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनी काठमाडौंबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा लैजाने प्रहरीको तयारी छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । 

सहकारी ठगीमा संलग्न रहेको भन्दै छानबिन समितिले जोशीको नाम पनि सिफारिस गरेको थियो ।