काठमाडौं- उपप्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् । 

आईतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

सिंहले घरजग्गा व्यवसायमा रहेका समस्याहरु पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै शहर व्यवस्थापनमा भएका समस्याहरु पहिचान गरी व्यवस्थित गर्ने काम पनि भइरहेको बताए । 

कार्यवाहक प्रधानमन्त्री सिंहले शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने बताए । 

सरकार र निजी क्षेत्र मिलेर व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेको उनको भनाई छ । 

सिंहले भने, ‘समस्याहरु पहिचान गर्नुपर्छ । पोलिसी बनाएर ऐनमा लैजानको लागि अहिले कम भइरहेको छ । शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ भन्नेमा हामी विश्वस्त छौँ, निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित शहर, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्नुपर्छ ।’

कार्यवाहक प्रधानमन्त्रीसँगको भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए । 

उनले २०६२ सालदेखि पटकपटक शहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भएपनि ऐन आउन नसकेको बताए । जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिवद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङ जस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरेको उनले बताए । 

उनले विदेशीलाई २० प्रतिशतसम्म अपार्टमेण्टहरु खरिद गर्न पाउने व्यवस्था पटक पटक पास गरेपनि कार्यान्वयनमा नआएको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण समेत गराएका थिए ।