काठमाडौं- राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् ।

सत्तारुढ काँग्रेस-एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रताका साथ अघि बढाउन छुट्टै कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् । 

OM Sai Pathibhara Hospital

बुधवार संघीय संसद राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद समेत रहेका समिति सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सरकारले छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने बताए । 

उनले राष्ट्रिय गौरवको आयोजना छनौटमा पनि गम्भिर हुन सरकारलाई सचेत गराए । सभापति शेर्पाले भने, ‘राष्ट्रिय गौरवको आयोजना भनेर छुट्टै कानून ल्याउन पर्छ होला नेपालमा । अब कानून एउटै छ खरिद प्रक्रियादेखि लिएर सबै टेण्डर प्रक्रियादेखि लिएर सबै कुरा एउटै छ कानून । तर नाम मात्रै दिइएको छ राष्ट्रिय गौरवको आयोजना । त्यसकारण राष्ट्रिय गौरवको आयोजनाको छुट्टै कानून ल्याउनुपर्छ भन्ने कुरामा हाम्रो समितिले पहिलेदेखि नै आवाज उठाउँदै आएको हो ।’

यस्तै सत्तारुढ नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणमा हतार नगर्न पनि सरकारलाई सुझाव दिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले कम लागतमा बढी प्रतिफल आयोजनाहरुको छनौट गर्न सरकारसँग आग्रह गरे । 

सांसद सार्कीले देश र जनताको हित हुने खालको आयोजनाहरुको कामलाई अघि बढाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।