काठमाडौं–नेपाल र बङ्गलादेशले द्विदेशीय आर्थिक सहकार्यलाई प्रगति दिने तथा क्षेत्रीय संगठनहरूको सहयोगमा जोड दिएका छन् । नेपालका राजदूत घनश्याम भण्डारीले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबारको भेटमा व्यापार, पारवहन, र ऊर्जा सहयोगमा छलफल गरेका हुन् ।

विशेष रूपमा, भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा द्विपक्षीय साझेदारीमा जोड दिएका हुन् । चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका छन् ।

OM Sai Pathibhara Hospital

प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

युनुसले नेपालको समर्थनको प्रशंसा गर्दै दुवै देशको सौहार्दपूर्ण सम्बन्धमा सन्तोष व्यक्त गरेका छन् । बङ्गलादेशले हालको आन्दोलनका क्रममा नेपाली नागरिकहरूको सुरक्षामा गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै, भविष्यमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गरेको छ ।