काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आसरा सुधार केन्द्र, रानीबारीको २८औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा कुँवरले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे । उनले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’ को विमोचन पनि गरेका छन् ।

कुँवरले लागूऔषध दुर्व्यसनी समस्यालाई नियन्त्रण मात्र नभई प्रभावित व्यक्तिहरूलाई पुन: स्थापना गर्नको लागि नेपाल प्रहरीले चालेका कदमहरूको चर्चा गर्दै आसरा सुधार केन्द्रले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

OM Sai Pathibhara Hospital

उनले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार, र समाजमा पर्ने नकारात्मक असरबारे चेतावनी दिँदै कानूनी, सामाजिक चेतना र पुन:स्थापनाको समन्वय अपरिहार्य रहेको स्पष्ट पारेका छन् । 

कार्यक्रममा केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले परामर्शदाताहरू र खेलकुद प्रतियोगितामा विजयी सदस्यहरूलाई पुरस्कार प्रदान गरिन् ।