काठमाडौं–संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उपसभामुख इन्दिरा राना मगरले यो निर्णयको जानकारी गराएकी हुन्।

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि आगामी असोज १९ गते सकिँदैछ। न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदका लागि वरिष्ठतम् न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो। 

OM Sai Pathibhara Hospital

अब राउतको संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ। समितिबाट अनुमोदन भएपछि राष्ट्रपति उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, र उपसभामुखको सहभागिता थियो।