काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गरेका छन् । 

संसदमा प्रश्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको ओलीको भनाई थियो । 

OM Sai Pathibhara Hospital

उपसभामुख इन्दिर रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषय आजको प्रतिनिधि सभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनि प्रश्न समेत गरे । 

कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गाली गलौजको शैलीमा प्रश्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यवहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।  

उहाँले भन्नुभयो,‘म सम्मानीय सभामुख मार्फत सबैलाई भन्न चाहन्छु-उठदै नउठेका कुराहरुमा, प्रस्तावै नआएका कुराहरुमा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठाननै नगरेका विषयमा उत्पातै भयो त ।’

प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने समेत बताएका छन् ।