काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर झुक्नेगरी कुनैपनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् । आज प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका भ्रमणमा जानेछन् ।

आगामी असोज ४ गते अमेरिका प्रस्थान गर्ने प्रधानमन्त्री ओलीले महासभामा उठाउने एजेण्डाबारे संसदलाई जानकारी गराउँदै नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने स्पष्ट गरेका हुन् । उनले महासभाबाट फर्किएपछि पनि आफूले गरेका कामबारे संसदलाई जानकारी गराउने पनि जनाएका छन् ।