काठमाडौं–सङ्घीय संसद्को दुवै सदनको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव राख्नेछन् । त्यसअघि अर्थ समितिको प्रतिवेदनसहित उक्त विधेयकमा छलफल गरिनेछ ।

OM Sai Pathibhara Hospital

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१’ पारित गर्न प्रस्ताव राख्नेछन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पनि पेस गर्ने सम्भावना रहेको छ ।

राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछन् । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सङ्घीयता सबलीकरण समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्नेछन् । 

त्यसका साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ मा भएको संशोधनमाथि छलफल र पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।