काठमाडौं- प्रतिनिधि सभाका सांसदहरुले जमिन बाँझो राख्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उनीहरुले खेतीयोग्य जमिन २ वर्षसम्म बाँझो राख्नेलाई कारबाही हुने कानूनी व्यवस्था कार्यान्वयनमा लैजान सरकारलाई सचेत गराएका हुन् । 

OM Sai Pathibhara Hospital

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले युरोप र अमेरिकामा पनि खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाही गर्ने चलन रहेकाले नेपालमा पनि कानूनसम्मत ढंगले त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिइन् । 

उनले शैक्षिक विदामा बस्ने तर अरु पेशा, व्यवसाय गर्ने कर्मचारीमाथि निगरानी राख्न पनि सरकारको ध्यानाकर्षण गराए ।  

यता, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसदद्वय रुपा सो. शी (चौधरी) र मिना तामाङले भूमिहीनहरुलाई पनि लोन लिएर व्यवसायिक खेती गर्ने परिपाटीको विकास गर्न सरकारसँग आग्रह गरेका छन् । 

सांसद चौधरीले सबै भन्सारहरुमा खाद्यवस्तुको चोरी पैठारी हुन नदिनका लागि क्वारेन्टाईनको व्यवस्था गर्ने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताइन् । 

अर्की सांसद मिना तामाङले कृषिका लागि आउने गैरसरकारी संस्थाहरुको बजेट नतिजामुखि काममा परिचालन गर्ने कुरामा ध्यान दिन सरकारलाई सुझाव दिइन् । उनले कृषि उपजहरुको संकलन र वितरणको व्यवस्था सबै प्रदेशहरुमा हुनुपर्नेमा पनि जोड दिइन् । 

सांसद तामाङले नेपालमा उत्पादन हुने खाद्य वस्तुहरुको एकीन तथ्यांक सार्वजनिक गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छन् ।