काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले आज थप तीन देशका लागि प्रस्तावित राजदुतको सुनुवाई गरेको छ । 

आज श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराई, संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत लोकदर्शन रेग्मी र बेलायतका लागि प्रश्तावित राजदुत चन्द्रकुमार घिमिरेको सुनुवाई भएको हो । 

OM Sai Pathibhara Hospital

सुनुवाईका क्रममा श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्ने बताए । 

सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सार्क र बिमस्टेकलाई थप क्रियाशील बनाउँदै यस भेगका मुलुकहरुको हित र विकासका लागि कुटनीतिक प्रयास गर्ने बताएका हुन् । 

उनले असंलग्न परराष्ट्र नीतिको परिधिभित्र रहि नेपाल र श्रीलंकाबीचको द्विपक्षिय सम्बन्धलाई सुदृढ र फलदायी बनाउन प्रयास गर्ने बताए । 

भट्टराईले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच नियमित हवाइ उडान सञ्चालनका लागि पहल गर्ने र लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्ने कार्ययोजना प्रस्तुत गरे । 

यस्तै संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत लोकदर्शन रेग्मीले आफू राजदुत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताए । 

आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै उनले द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान-प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताए । 

रेग्मीले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने जिकिर गरे । 

बेलायतका लागि प्रश्तावित राजदुत चन्द्रकुमार घिमिरेले राजदुत नियुक्त भएमा ब्रिटिश गोरखाहरुको समस्या समाधानका लागि प्रयास गर्ने कार्ययोजना प्रस्तुत गरे । 

घिमिरेले सन् १९९७ पूर्वका ब्रिटिश गोर्खा फौजबाट सेवा निवृत्त भएका गोरखाहरुको समस्या समाधानका लागि हाल वार्ता चलिरहेको उल्लेख गर्दै गोरखाहरुको हित संवद्र्धन हुनेगरी निष्कर्षमा पुर्‍याउने कामलाई आफूले प्राथमिकतामा राखेको बताए । 

उनले नेपाललाई आर्थिक सहयोग पाउने मुलुकको सूचिमा राखिराख्न आफूले प्राथमिकताको काममा राखेको भन्दै विकास सहायतालाई थप गराउन प्रयत्न गरिने बताए । 

त्यसैगरी आर्थिक रुपमा नेपाललाई लाभ हुने काममा पनि आफूले जोड दिने उनको भनाई छ ।