काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारको विषयमा समिति स्पष्ट हुनुपर्ने बताएका छन् । 

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको समेत बताए । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उनको भनाइ छ । 

गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको की, अनुदान गएको हो की ? जाने प्रक्रियालाई समात्ने हो की ? सरकारी पैसा गएको बारेमा अनुसन्धान गर्ने भन्नेकुरामा समिति स्पष्ट हुनुपर्ने बताए ।  

कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने की ? समग्र कम्पनीको पैसा हेर्न पाउने भन्नेमा पनि सांसदहरुले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्नेमा उनको जोड थियो । 

उनले भने ‘समितिले गरेको निणर्य सरकारले बोक्छ । समितिले मज्जाले छलफल गरोस् भन्ने नै मेरो आग्रह हो । पहिला निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा क्लियारिटी भयो भने भाषा लेख्न गाह्रो हुन्न । किनभने पहिला त प्रिन्सिपल सेट गर्नुपर्छ । प्रिन्सिपल सेट भइसकेपछि प्रिन्सिपल अनुसारको भाषा लेख्ने हो ।’ 

समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निणर्य गरी समितिमा पेश गर्न आग्रह गरेका थिए ।