काठमाडौं–सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबारमा व्यस्त भएको गुनासो बढेपछि सरकारले सरकारी कार्यालयमा टिएमएस (शेयर कारोबार प्रणाली) प्रयोगमा प्रतिबन्ध लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुगमनपछि सरकारले यो कदम चालेको हो । आयोगले कर्मचारीहरूले कार्यालय समय छोडेर निजी कारोबारमा लागेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय‚ आयोग‚ सचिवालय‚ र प्रदेशका कार्यालयहरूलाई कार्यालय समयमा शेयर कारोबार नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सरकारी कार्यालयमा बसेर निजी कारोबार गर्नु कानुनीरूपमा अमान्य भएको र यसले सेवाग्राहीलाई असर पुर्‍याएको बताएका छन् । उनले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न निर्देशन दिएका छन् ।