काठमाण्डौ  ।  बुद्ध एयरले आफ्नो एटीआर -४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ। नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले सदाका लागि बिदाइ गरेको हो।

बिमान २००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो। विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो। जहाजलाई सम्मानस्वरुप  पानीको फोहोरा दिएर बिदाइ गरेको हो। 

OM Sai Pathibhara Hospital

बिमानले ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नपाउने एटीआरको नियमअनुसार यो विमानलाई आजबाट उडान बन्द गरिएको बुद्ध एयरले जनाएको छ।बुद्ध एयरका अनुसार यो विमानले १८ लाख यात्रुलाई सेवा दिएको छ।

पहिलो पटक एटिआर विमानको बिदाइ

बुद्ध एयरको एटीआर-४२ विमान बिदाइ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले सम्मान दिएर उक्त विमानलाई बिदाइ गरिएको छ। एउटै विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको एटीआर विमानले अब कहिल्यै उडान भर्ने छैन।

बुद्ध एयरले सन् २००८ भित्र्याएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर-अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त एटीआर विमानलाई अब कहिल्यै नउडाउनेगरी बिदा गरेको हो। कम्पनीसँग ४७ सिटका एटीआर-४२ तीन र ७० सिट क्षमताका १५ वटा एटिआर विमान छन्। विमानको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्ने विज्ञहरू बताउँछन्। ‘विमानको उमेर अवधि साता, दिन, वर्षका आधारमा हुँदैन। हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मतसम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ’, निर्देशक थापाले भने।

उनका अनुसार विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन। यसपछि विमानलाई बिदाइ गर्नैपर्ने हुन्छ। बुद्ध एयरले १८ वटा एटिआर विमान भित्रयाइसकेको छ। बुद्ध एयर एटीआर सञ्चालन गर्ने संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी रहेको जनाइएको छ। एटीआरले अहिलेसम्म करिब २५ हजार विमान निर्माण गरिसकेको बताइन्छ।

एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पारगरी यसरी बिदाइ गरिएको संसारमै पहिलो पटक हो। यसैगरी एटिआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको विमानको गुणस्तरीय उडान सेवा र दक्ष जनशक्तिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने विश्वास व्यक्त गरे।विमानस्थलका महाप्रबन्धक रिञ्जी शेर्पाले बुद्ध एयरले सुरक्षित उडानमा गरिरहेको अभ्यासको सराहना गर्दै आगामी दिनमा यात्रुको सेवा सुरक्षालाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूतावास एल्सा काली, एटिआर कम्पनीका प्रतिनिधि पवन तनवानीलगायत विभिन्न बैंकका सिइओहरुको उपस्थिति थियो।