काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा विशेष समारोहको आयोजना गर्दै प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको चिह्न प्रदान गरेका छन् । समारोहमा प्रधानसेनापति सिग्देलले नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा औपचारिक रूपले कमाण्ड सम्हालेका हुन् । सिग्देलले स्वदेश र विदेशमा सैन्य शिक्षा प्राप्त गर्दै ३८ वर्षको सैन्य सेवामा विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेका छन् । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव‚ प्रधानमन्त्री केपी शर्मा ओली‚ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ‚ सभामुख देवराज घिमिरे‚ र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए । प्रधानसेनापति सिग्देललाई पूर्व प्रधानसेनापति प्रभुराम शर्माले अनिवार्य अवकाश प्राप्त गरेपछि कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको थियो । 

सिग्देलको सैन्य करियरमा काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमाण्डेन्ट‚ इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड लगायतका जिम्मेवारीहरू समावेश छन् । उनले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक स्नातकोत्तर तहको अध्ययन गरेका छन् । नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा विशिष्ट योगदान गर्दै ४४ वटा मिसनमा १ लाख ५२ हजार ८ सय २३ शान्ति सैनिकको सेवा पुर्याइसकेको छ । वर्तमानमा‚ विश्वका द्वन्द्वग्रस्त राष्ट्रमा ६ सय ७५ महिलासहित ५ हजार ९ सय १६ नेपाली सैनिक कार्यरत छन् ।