काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । 

आईतवार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले धेरै सडक दुर्घटना भइरहने ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग छलफल भइरहेको बताए । 

OM Sai Pathibhara Hospital

उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा घाइतेले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए । 

अहिले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताए । 

उने भने, ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ । गठन आदेशबाट निर्माण भएको छ । यसको कानून बनाउनै बाँकी छ । हाम्रो तर्फबाट हुने ऐन, कानून निर्माण गर्नेकुरा बाँकी छ । ऐन कानून बनाउने सन्दर्भमा हामी एकदमै यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर गरिरहेका छौं ।’

मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे । उनले खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरु लागिपरेको पनि जिकिर गरे ।