काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । 

भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

पाण्डले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । 

उनले भने, ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्नेछ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन ।’

मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूणर् जानकारी पाइसकेको र आफूले बुझेको भन्दै सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए । 

भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने उनको भनाई छ । 

उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको जिकिर गरे । 

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको र संस्कृति पनि भाषामै अड्किएको बताए । 

भाषा नरहे संस्कृति नरहने भन्दै उनले भाषा बिना संस्कृतिको मौलिकता हराउने पनि जिकिर गरेका छन् । 

अध्यक्ष ठाकुरले भाषा सर्वेक्षण गहिराइमा पुगेर गर्नुपर्ने भन्दै भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् ।