काठमाडौं–दक्षिण कोरिया पछिल्ला केही दशकदेखि नेपाली युवाका लागि एक प्रमुख रोजगार गन्तव्य बनेको छ । १७ वर्ष अघि सन् २००७ मा नेपाल र दक्षिण कोरियाबीच भएको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौतासँगै दक्षिण कोरियाले नेपाली श्रमिकलाई रोजगारीका लागि लैजान थाल्यो । यस प्रणालीअन्तर्गत नेपाली युवाको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको छ । 

सन् २००८ देखि लागू भएको इपिएस प्रणालीमा हालसम्म नौ लाख १९ हजार छ सय ३१ नेपालीले कोरियन भाषा परीक्षा दिएका छन् । सन् २०२४ का लागि मात्रै एक लाख ९९ हजार एक सय १३ युवाले परीक्षा दिन आवेदन दिए । अहिलेसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना नेपालीले परीक्षा दिइसकेका छन् । 

OM Sai Pathibhara Hospital

दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत रोजगारी प्राप्त गर्ने नेपालीको सङ्ख्या हालसम्म एक लाख पाँच हजार पाँच सय ४४ रहेको छ । यस मध्ये ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला श्रमिक समावेश छन् । सन् २०२३ मा मात्र १९ हजार छ सय ८९ नेपालीले दक्षिण कोरिया प्रस्थान गरेका थिए, र यो संख्या सन् २०२४ मा पनि निरन्तर वृद्धि भइरहेको छ ।

दक्षिण कोरियामा नेपाली श्रमिकलाई विभिन्न क्षेत्रहरूमा रोजगार दिइँदैछ, जसमा कृषि, पशुपालन, उत्पादन, पानी जहाज, वन र सेवाका क्षेत्र समावेश छन् । यद्यपि, भाषा परीक्षा पास गरेर पनि रोष्टरमा रहनु र रोजगारदाताको छनोटमा पर्न चुनौतीपूर्ण छ ।