काठमाडौं–सरकारले २१औँ निजामती सेवा दिवस‚ २०८१ को अवसरमा उत्कृष्ट योगदान दिने १० निजामती कर्मचारीलाई सम्मान गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार‚ निजामती सेवा नियमावली २०५० को आधारमा छनोट गरिएका ती कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिनेछ। यो पुरस्कार आगामी वर्ष २२ औं निजामती सेवा दिवस‚ २०८२ मा प्रदान गरिनेछ।

सरकारले प्रत्येक वर्ष कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ। यसपटकको पुरस्कार प्राप्त गर्नेमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलका सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल‚ कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शङ्करबहादुर केसी‚ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव राजुप्रसाद गुरागार्ईंलगायत छन्।

OM Sai Pathibhara Hospital

त्यस्तै‚ कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र‚ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चुडाराज न्यौपाने‚ गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा‚ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चीरञ्जीवी नेपाल‚ नापी कार्यालय खाँकबारीका सर्वेक्षक आशा राई‚ कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका दरोगा बुनु राना‚ र समशितोष्ण बागवानी केन्द्र मार्फा‚ मुस्ताङका निलबहादुर पुर्जा मगरलाई पनि उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिनेछ।

यसबाहेक‚ विभिन्न ३० कर्मचारीलाई पनि निजामती सेवा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ।