काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने भ्रमणलाई स्वीकृत गरेको हो ।

महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुनेछ । उक्त महासभामा सहभागी हुन प्रधानमन्त्रीले ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने कार्यक्रम छ, जुन २२–२३ सेप्टेम्बर मा हुनेछ । तेस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, नीजि सुरक्षा अधिकारी, श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, स्वास्थ्य टीम र एकजना फोटोग्राफर हुनेछन् । यस्तै, मन्त्रीका नीजि सुरक्षा अधिकारी र स्वकीय सचिव भ्रमणदलमा रहने जनाइएको छ । 

यसैगरी, मन्त्रिपरिषद्को बैठकले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण दिने प्रस्ताव पनि स्वीकृत गरेको छ । यो ऋण दुग्ध किसानको बाँकी भुक्तानीका लागि सर्तसहित उपलब्ध गराइनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दसैँअघि नै किसानको बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।