काठमाडौं- सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै सभामुखले असन्तुष्टि जनाएका हुन् । 

OM Sai Pathibhara Hospital

निर्माणाधिन नयाँ संसद भवनको आज निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे । 

उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह समेत गरे । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि सभामुदे आग्रह गरेका छन् । 

उनले भने, ‘एउटा चिन्ताको विषय केह हो भने हामी चैत्र २० भनेको अब ७ महिना छ । सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरु फिनिसिङका कुराहरु सबै कुराहरुले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ । अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ ।’ 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताएका छन् । उनले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए । 

उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिँदै १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिका समेत माग गरेर अघि बढेको जानकारी दिए । 

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म शुरु नभएको बताए । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको उनको भनाई छ ।