काठमाडौं- नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएका छन् । 

आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

मुख्यसचिव अर्यालले सङ्घीय निजामती विधेयक आउन नसक्दा कर्मचारी प्रशासनमा धेरै नै समस्याहरु भएको भन्दै कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्नका लागि विधेयक अत्यावश्यक भएको बताए । 

उनले प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर परेको जिकिर गरे । कानून नहुँदा प्रदेशले आफ्नो उपस्थिति देखाएर काम गर्न नसकेको उनको भनाई छ । 

जनशक्तिको व्यवस्थापन हुन नसक्दा संघ देखि स्थानीय तहसम्म नै सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको अर्यालले बताए । 

उनले भने- ‘राजनीतिक रुपमा संघीयता आयो । तर प्रशासनिक हिसाबमा हामी संघीयतामा जान सकिएन । त्यसले गर्दा सेवा प्रवाहमा असर पर्‍यो । प्रदेशले आफ्नो उपस्थिति देखाएर काम गर्न सकेको स्थिति छैन । किनभने जनशक्तिको व्यवस्थापन गर्न सकिएन ।’

अयालले प्रशासनिक सङ्घीयतालाई मजबुत बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड दिदै विधेयक छिटो पारित नभएमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसक्ने बताए ।