काठमाडौं–वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ। मकवानपुरको लाम्राङमा पहिरो खस्दा सडकमा आवतजावत रोकिएको हो। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको छ।

यस्तै, मकवानपुरको डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई नेपाल प्रहरीले उद्धार गरेको छ। घाँस काट्न गएका ती व्यक्तिहरू बाढीसँगै बगरको बीचमा अलपत्र परेका थिए। इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, र नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको जनाएको छ।