काठमाडौं- रूसका लागि प्रश्तावित राजदुत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई नेपाल फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका छन् । 

संसदीय सुनुवाई समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका हुन् । 

आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको उनले बताए । 

उनले आफूसँग रुसी भाषाको ज्ञान भएको र रुसी नागरिकहरुसँग परिचय समेत भएको भन्दै नेपालीलाई स्वदेश फर्काउने काममा सहज हुने जिकिर गरे । 

नेपाली नागरिक विचौलिया मार्फत व्यक्तिगत सम्झौताको आधारमा त्यहाँ त्यहाँ पुर्‍याइएको भन्दै उनले व्यक्तिगत सम्झौता एक वर्षको लागि रहेको र सम्झौता अवधि सकिएपछि आफैँ फर्किन सक्ने बताए । 

चौहानले भने- ‘सरकारको जिम्मेवारी छ, आफ्ना नागरिकहरुलाई सही, सलामत फर्काउनु । र मरेकाहरुका लागि आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनु । आफ्ना नागरिकहरुको व्यवस्थापन गर्नु हाम्रो कर्तव्य नै भइहाल्यो । तर उनीहरु विभिन्न विचौलियाहरुबाट, विभिन्न व्यक्तिगत कन्ट्रयाक्टको आधारमा उनीहरु त्यहाँ पुगेका छन् । सुन्नमा आए अनुसार कतिले नागरिकता पाउने प्रक्रियामा छन् । नागरिकता पाए भने फर्काउने कुरामा केही गर्न सक्ने अवस्था रहँदैन ।’

प्रश्तावित राजदुत चौहानले नेपालमा तेल आयात गर्ने वैकल्पिक स्रोत रुस रहेको भन्दै यस निम्ति पनि काम अगाडी बढाउने बताएका छन् ।