काठमाडौं- दक्षिण कोरियाका लागि प्रश्तावित राजदुत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छन् । 

आज संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताएकी हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्ने भन्दै उनले फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रस्ताव गर्ने उल्लेख गरिन् । 

तुम्वाहाङ्फेले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताइन् । 

त्यसैगरी नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं-कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने विषय पनि आफ्नो कार्ययोजनामा उनले उल्लेख गरेकी छन् । 

उनले संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्ने पनि बताएकी छन् ।