काठमाडौं–काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको जहाज बुधबार बिहान ११:११ बजे रनवे छाड्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा नै दुर्घटना भयो ।

२०७९ माघ १ गते पोखराको सेतीमा भएको भयानक दुर्घटना भुल्न नसकेका पोखरेली यस दुर्घटनामा पनि पोखराको नाम सुन्नासाथ फेरि झसङ्ग भए । काठमाडौंमा बढ्दो एयर ट्राफिकका कारण ह्याङ्गरको पर्याप्त सुविधा पाउन नसक्दा भर्खरै निर्माण सम्पन्न भएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र रहेको ह्याङ्गरमा मर्मतका लागि आउन सो जहाज उडेको थियो ।

OM Sai Pathibhara Hospital

विमानस्थलका प्रवक्ता जशोदा सुवेदीका अनुसार पोखराको ह्याङ्गर प्राविधिक र अन्य सुविधा सम्पन्न रहेकाले प्राधिकरणले तोकेको शुल्क तिरेर जहाज नियमित सर्भिसिङका लागि आउने गर्छन् । त्यस्ता सबै सुविधा प्राधिकरणले नै उपलब्ध गराउँछ ।

सो ह्याङ्गरमा दुई वटासम्म जहाज एकैचोटि राख्न र मर्मत गर्न सकिन्छ । जहाज खुला ठाउँमा मर्मत गर्न नमिल्ने हुँदा पनि ह्याङ्गर नै आवश्यक पर्दछ । जहाज मर्मत गर्ने नियमित प्रक्रिया हो ।

दुर्घटना के कारणले भयो हामीलाई थाहा छैन, प्रवक्ता सुवेदीको भनाइ थियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक उडान हुन नसके पनि अन्तरिक उडानमा भने सहज भएको छ ।

यात्रुले पृथ्वी राजमार्गको स्तरोन्नति हुँदै गर्दा सडक मार्गको यात्रा केही कठिन र समय लाग्ने भएकाले पनि हवाई यात्रा रोज्ने गरेका छन् तर पटक पटकका दुर्घटनाले हवाई यात्रा पनि सुरक्षित नहुने महसुस पोखरेलीले गर्न थालेका छन् । गोरखापत्रबाट