काठमाडौं / मानव अधिकार तथा शान्ति समाजले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।
समाजकी अध्यक्ष रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यमबाट कुनै त्रुटि भएको भए त्यसको समाधानका लागि कानुनी तथा नियामक निकायको प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै पत्रकारलाई पक्राउ गर्ने कदम उपयुक्त नभएको जनाइएको छ। विज्ञप्तिमा पक्राउपछिको दिन जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएको घटनाप्रति पनि आपत्ति जनाइएको छ।
समाजले यस्तो कार्यले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारमाथि असर पुर्याएको दाबी गरेको छ। शान्ति समाजले नेपालको संविधानले सञ्चारको हक तथा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै पत्रकारिताको अन्तर्राष्ट्रिय मान्यता र सूचनाको स्रोत संरक्षणसम्बन्धी सिद्धान्तको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।
समाजले पत्रकार श्रेष्ठको शीघ्र रिहाइ, प्रेसमाथि हुने हस्तक्षेप रोक्न तथा कानुनी प्रक्रिया संविधान र लोकतान्त्रिक मूल्यअनुसार अघि बढाउन सरकारसँग आग्रह गरेको छ।






































