काठमाडौं / मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका- २७ घर भई हाल काठमाडौं महानगरपालिका- ८ गुह्येश्वरी पञ्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरूलाई अन्यत्र देशमा लगी अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

कमल तामाङ समेतले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रुपैयाँसम्म रकम लिई हालसम्म पीडितहरूबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको, नेपालबाट अमेरिका लैजाने भनी भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरूमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।