पथरी /सरोज निरौला पथरी शनिश्चरे वडा नं -१ ले बढ्दो डेङ्गु रोगको प्रकोप नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नष्ट गर्न सामूहिक अभियान सञ्चालन गरेको छ । आज वडा नं १ को मुख्य सडक गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु गरी पश्चिम बस स्टेन्ड हुँदै पुनः गार्खा डिपार्टमेन्ट सम्म अभियान सञ्चालन गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्बापो, वडा अध्यक्ष भीमकुमार राई, वडा सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अभियानको उद्घाटन गर्दै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले डेङ्गु रोगले अकालमै मार्न सक्ने भएकाले यसबाट बच्न सबैले लामखुट्टेको बासस्थान पहिल्याई त्यसलाई नष्ट गर्नुपर्ने बताउनुभयो । नगरले पथरी शनिश्चरे भरीनै यो कार्यको सुरुवात गर्ने लक्ष्य लिएको बताउँदै वहाँले यो अभियानमा सबैको साथ अपरिहार्य रहेको बताउनुभयो ।

OM Sai Pathibhara Hospital

अभियानमा आफ्ना भनाई राख्दै वडा नम्बर १ का वडा अध्यक्ष भीमकुमार राईले पथरी शनिश्चरेमा डेङ्गुको प्रकोप बढेको कारण यसको पू्र्ण नियन्त्रणको लागी यो कार्य गरिएको र यस कार्यलाई निरन्तर रुपमा अघि बढाइने बताउनुभयो । डेङ्गुबाट हुने संक्रमण र यस बाट बच्ने उपायका बारेमा नगर प्रमुख मोहन प्रसाद तुम्मापो,वडा अध्यक्ष भीम राई, समाजसेवी प्रदीपकुमार राई लगायतले व्यवसायीहरूलाई सचेत गराउनुभएको थियो ।

वडाले आज बाट सुरु गरेको अभियान प्रति ऐक्यबद्धता जनाउदै स्थानीयले वडाको कामले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताएका छन । स्थानीय सामाजिक काममा सक्रिय कला पराजुलीले वडाको काम सहनीय रहेको  तर विषादी प्रयोग गर्दा अपनाइनुपर्ने स्वास्थ्य प्रोटोकलमा वडाले खासै ध्यान नदिएको प्रति आफ्नो असन्तुष्टि रहेको बताउनुभयो । वहाँले विषादीले बिस्तारै असर देखाउने भएकाले स्वास्थ्य प्रोटोकललाई विषेश ख्याल गर्नुपर्ने बताउनुभयो ।