बिर्तामोड / सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन ।

शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका- १७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राई अनुसार मोटरसाइकलमा चार जना सवार थिए । दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए ।

OM Sai Pathibhara Hospital

उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी  राईले जानकारी दिए।