बिर्तामोड / सुनसरीको इटहरी उप-महानगरपालिका- ९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका- ९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका- ४ नुवाकोट घर भई काठमाण्डौको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन । उनीहरूले यही ज्येष्ठ १५ गते राती मोबाइल पसलको सटर फोडी ३ लाख बराबरको बिभिन्न कम्पनीको मोबाइलहरू चोरी गरेका थिए ।
चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मोबाइल सेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको आजै सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।