बिर्तामाेड / मेचीनगरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –७ का ३८ वर्षीय महेश मण्डल रहेका छन् ।
गत २९ वैशाखमा मेचीनगर –७ स्थितपालिका गंगा टोलकी १३ वर्षीया बालिकालाई मण्डलले आफ्नै घरमा प्रलोभनमा पारी पाँच सय रुपैयाँ दिएर जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित बालीकाले उक्त घटनाका बारेमा आफ्नी आमालाई बताएपछि उनकी आमाले आजै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जाहेरी दिएकी थिइन् ।
उक्त जाहेरीको आधारमा प्रहरीले मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
त्यस्तै हिजो बिहीबार मात्रै झापाकै अर्जुनधारा नगरपालिका –११ बाट ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय विपिन राई पक्राउ गरेको थियो ।
गत मंगलबार राति मेचीनगर नगरपालिका –१३ चारआलीस्थित झिल जाने बाटोमा बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडितका परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिए पछि प्रहरीले आरोपित राईलाई हिजो बिहीबार पक्राउ गरेको हो ।
मुलुकी अपराध संहिताको दफा २२५ बमोजिम बाल यौन दुरुपयोग सम्बन्धी कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय हुने कानुनी व्यवस्था रहेको छ ।