बिर्तामोड / मोरङमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने उद्योग आरोपमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका- २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
आफन्तले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले कुटपिट गरेका कारण भिनाजुको मृत्यु भएको मृतकका सालो किसन शाहीले आरोप लगाए । ‘घरबाट सकुशल ल्याएको मान्छेको मृत्यु प्रहरीको कुटपिटबाट भएको हुनसक्छ,’ उनले भने, ‘निष्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’